काठमाडौं । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए ।
तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए ।
त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।
महाभियोग निस्क्रिय भएको भनेर लेखिएको पत्रविरुद्ध दायर रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
जबराको आचारणमाथि प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरूले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।
जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनले २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउँदै छन् ।