काठमाडौं- धनुषाको जनकपुर उपमहानगरपालिका–१ मुसहरी टोलमा ना.१ क ३१२४ नम्बरको मोनाष्टिक स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१९ बेंगा पिपराडी बस्ने ७५ वर्षीय जहर दासको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको पिप्रा नगरपालिका–६ रतौलीस्थित सडकमा भमरपुराबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प २५९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक बलवा नगरपालिका–१ बन्चौरी बस्ने ४५ वर्षीय मोहन साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
झापाको कन्काई नगरपालिका–८ स्थित सडकमा ना.३ ख २९०४ नम्बरको ट्रकमा प्र १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।