काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरेर कटाक्ष गरेका छन् ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बाँस्कोटाले सामाजिक सन्जाल मार्फत नेपालका वामपन्थी पार्टीहरूमा वामएकताको स्वर हराउन थालेको टिप्पणी समेत गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गरेर अर्काको खेतमा मलजल, गोडमेल गरेर आफ्नो भकारी नभरिने बताएका छन् ।
उनले लेखेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृती काम छैन।’
कतारमा जारी विश्वकपमा स्पेन पराजित भएको प्रसंगलाई जोड्दै नेपालका वामपन्थीहरूकै जनमतको कारणले कांग्रेस ठूलो पार्टी बनेको उनले बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्:
‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन।कही जनमत र केही हर्कतबाट कांग्रेस ठुलो भै सक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृती काम छैन।’