आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मेलम्चीको पानी तेस्रोपटक सुन्दरीजल आइपुग्यो, कहिले आइपुग्छ काठमाडौं ?

बुधबार, मंसिर २१ २०७९

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ ।

गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए । सुरुको पानी वाग्मतीमा पठाएपछि आजदेखि सुरुङको गेट बन्द गरिएको छ । 

केही दिन सुरुङ भर्नलाई पानी बन्द गरिने उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो । अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुनाए ।
 
मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ । सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ ।

पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।