काठमाडौं । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन बनाउन खोजेपछि विवाद उत्पन्न भएको छ ।
तर, भारतका लागि ‘कम्फरटेबल’ बनेको सरकार ज्यादतीविरुद्ध निरीह बनेको भन्दै चर्को आलोचना हुन थालेको छ ।
यसअघि सरकार निर्माण अगाडि नै सत्ता गठबन्धनका नेताले सार्वजनिक रूपमा नै भारतको लागि समेत कम्फरटेबल सरकार निर्माण गर्छौं भन्नु, तुइन तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटेर नेपाली युवा जयसिंह धामी र सीमा मिचेर सडक निर्माण गर्दै गर्दा भएको विस्फोटमा परी नेपाली बालक पवन महराको मृत्यु हुँदा समेत देउवा नेतृत्वको गठबन्धन सरकार मौन रहेको भन्दै आलोचना भएको हो ।
पछिल्लो समय सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा आइतबार भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध बनाउन खोज्दा विवाद उत्पन्न भएको हो । विवादले उग्ररूप लिएपछि सीमामा नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहानसमेत भएको हो । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारीविपरीत भारतीय पक्षले काम गरेपछि खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान हुँदा केही घाइते भएका छन् । महाकाली पारि भारतीय पक्षले तटबन्धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ । तटबन्ध निर्माण गरेर नदीको धार परिवर्तन भइरहेको भन्दै स्थानीयले आइतबार दिउँसो नेपाल(भारत जोड्ने झोलुंगे पुल अढाई घण्टा बन्द गरेका थिए ।
सोमबार बिहान झण्डै दुई घण्टा भारतीय पक्षले पनि झोलुंगे पुल बन्द गरेपछि आवागमन नै बन्द भएको थियो । भारतले निर्माण गरिरहेको तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ छ । महाकाली नदीको धार नै नेपालतर्फ फर्किने र त्यसले बर्सात्मा ठूलो क्षति हुने भन्दै उनीहरूले एकपक्षीय रूपमा भइरहेको तटबन्धन निर्माण रोक्न माग गर्दै आएका छन् । समस्याबारे पटक(पटक जानकारी गराउँदा पनि नेपाली पक्षबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ ।
दार्चुला घटनाबारे सरकारले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीसहित अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराए पनि सरकार मौन देखिको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘पछिल्लो एक वर्षमा मात्र तीनपटक सीमा विवादका कारण स्थानीयहरूबीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदासमेत सरकार मौन छ,’ अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भत्र्सना गर्दछ । भारतीय पक्षको हेपाहा प्रवृत्तिको कुनै प्रतिक्रिया नजनाउनुले नेपाल सरकार देशको सार्वभौमिकता र आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुँदै गएको स्पष्ट भएको छ ।’
यसैगरि नव गठिन राष्ट्रिय स्वतन्त्र पार्टीले महाकाली घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट महाकालीमा भएको ज्यादतिको विरोध जनाएको हो । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा दार्चुलाका स्थानीयले विरोध गरेपछि भारतीय पक्षको ढुंगा लागेर नेपालका एक बालक घाइते भएको घटनाप्रति रास्वपाले विरोध जनाएको छ ।