आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गठबन्धन सरकार गठनका लागि जोड घटाउ सुरु

सोमबार, मंसिर १९ २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा आईसकेको छ ।  निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो ।

जसमध्ये प्रतिनिधिसभामा नेपाली कांग्रेसले ५७ सिट जितेर पहिलो दल बनेको छ । नेकपा एमालेले ४४ सिट जितेको छ । १८ सिटमा जित निकाल्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार गठन गर्न राजनीतिक दलका नेताहरूले आन्तरिक तथा द्विपक्षीय औपचारिक–अनौपचारिक छलफल तीव्र पारेका छन् । 

शनिबार बसेको सत्तारुढ दल माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै कुन दलको नेतृत्वमा सरकार बन्ने भन्ने विषय थप अनिश्चित बनेको छ । नेकपा एमाले र माओवादी केन्द्रमा वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज बलियो बन्दै गएको सन्दर्भमा आगामी सरकार वाम दलको नेतृत्वमा बन्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । अर्कोतिर वाम दल बाहेकको सरकार बन्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि १३८ जना सांसदको समर्थन अनिवार्य चाहिन्छ । निर्वाचन परिणामअनुसार कम्युनिष्टइतर राजनीतिक दलहरूको सांसद संख्या सामान्य बहुमत पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने लगभग निश्चित भइसकेको छ । प्रत्यक्ष तर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान गर्न कठिन छैन ।

हालसम्मको निर्वाचन परिणामअनुसार पनि कम्युनिष्टइतर दलहरूलाई सरकार बनाउन बहुमत पुग्ने देखिएको छ । सरकार गठनका लागि आवश्यक १३८ सांसद गैरवाम दलबाट निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जसअनुसार कांग्रेसको सांसद संख्या ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । सिंह जोड्दा कांग्रेसका सांसदको संख्या ९० पुग्नेछ । प्रत्यक्षतर्फ सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउने निश्चित भएसँगै जम्मा २१ जना सांसद हुनेछन् । गैरवाम दल राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्दा समानुपातिकमा सात सिट नै पाए पनि सांसद संख्या १४ हुनेछ । 

प्रत्यक्षमा एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउँदा जम्मा सांसद संख्या पाँच हुनेछ । यसैगरी, प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्रसहित चार जना सांसद छन् । नतिजा अन्तिम चरणमै रहेका बेला सत्ता गठबन्धनका नेताहरुसँग सिके राउतले छलफल थालेका छन् । पहिलो पटक संसदिय निर्वाचनमा होमिएर जित निकालेका उनी जसरी पनि सरकारमा सामेल हुन छलफललाई तिव्रता बनाइरहेका छन् । उनले संसद्मा बहुमत पुर्‍याउन आफूहरु नै निर्णायक हुने बताउँदै आएका छन् ।

तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसके पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ । प्रभु साहले पनि स्वतन्त्रबाट चुनाव जितेका छन् । एमालेले उनलाई कारवाही गरेको छ । उनी कतातिर सामेल हुने भन्ने बारे अहिलेसम्म खुलेका छैनन्  । अन्य दुई स्वतन्त्र सांसद छन् । उनीहरुको समर्थन कता हुने अझै निर्योल भएको छैन । 

यसैबीच चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज  बस्दै छ ।
 प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो।