आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

सोमबार, मंसिर १९ २०७९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ४४ सिटसहित दोस्रो स्थान कायम गरेको छ ।

पछिल्लो परिणामअनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनको साथ पाएका गंगा कार्की विजयी भएसँगै नेकपा माओवादीको सिट १८ पुगेको छ।

समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ। समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७–७ सिट जितेका छन् ।

अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एकरएक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

देशभरका ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ ।  नेकपा (एमाले) ले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।

नेकपा (माओवादी केन्द्र) ले भने ५३ स्थानमा मात्रै जित हासिल गरेर तेस्रो बनेको छ । नेकपा (एकीकृत समाजवादी) ले भने १५ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गरेको छ । 
यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।