आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लोकप्रिय मतमा एमाले नै पहिलो

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९को मत परिणामको नतिजाअनुसार समानुपातिक तर्फको अहिलेसम्मको मतगणनाका आधारमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ ।

संसदमा दोसो बनेको नेकपा (एमाले) ले ४४ जिल्ला र ७२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेर लोकप्रियताको आधारमा पहिलो पार्टी बनेको छ ।  

देशभरका ७७ जिल्लामा रहेका १६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनका आधारमा लोकप्रिय मत प्राप्त गर्ने दोस्रो पार्टी भने नेपाली कांग्रेस बनेको छ । नेपाली कांग्रेसले २० जिल्ला र ४८ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक तर्फको जम्मा मतका आधारमा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) ले भने पाँच जिल्ला भित्रका नौवटा निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेर तेस्रो लोकप्रिय दल बनेको छ । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरे पनि निर्वाचन क्षेत्रमा भने माओवादीभन्दा दोब्बर बढी १४ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा सात सिट जितेको जसपाले समानुपातिक मतमा एउटा पनि जिल्लामा पहिलो मत पाएन । जसपाले मधेश प्रदेशका तीन र लुम्बिनी प्रदेशका दुईवटा गरेर पाँचवटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको र समानुपातिकमा पनि पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशकै एक निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले दुई जिल्लामा सबैभन्दा बढी मत प्राप्त गर्दा चारवटा निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल बनेको छ । एक जिल्ला अर्थात् सप्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको जनमत पार्टीले भने मधेश प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा पहिलो लोकप्रिय मत पाएको छ । एक जिल्ला अर्थात् महोत्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशका दुई र लुम्बिनी प्रदेशको एक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ । एक जिल्ला अर्थात् भक्तपुरमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको नेपाल मजदुर किसान पार्टीले सोही जिल्लाको क्षेत्र नम्बर १ मा सर्वाधिक मत पाएको छ ।