आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेसमा प्रधानमन्त्री किचलो : संसदीय दलमा करिब दुईतिहाइ नजिक देउवा

शुक्रबार, मंसिर १६ २०७९

काठमाडौं । गठबन्धनले बहुमत ल्याए आफू नै भावी प्रधानमन्त्री भन्दै नेपाली कांग्रेसका आधा दर्जन नेताले जनतासँग भोटमा मागेका थिए ।

विशेषत: महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ का जनतासँग कांग्रेसबाट आफू नै भावी प्रधानमन्त्री बन्ने दाबी गरिरहँदा अर्कामहामन्त्री विश्वप्रकाश शर्माले समेत उनलाई समर्थन गरेका थिए । यसरी ‘प्रधानमन्त्री बन्छु’ भन्दै भोट बटुल्ने अनि प्रधानमन्त्री हुन नसक्ने हो भने जनताले आफूलाई दिएको मतको अपमान हुन्छ की हुन्न ?  उनीहरुमा नैतिक प्रश्न खडा हुन्छ ।

चुनावी परिणामलाई हेर्दा गठबन्धनलाई सरकार बनाउन सामान्य बहुमत पुग्ने देखिन्छ । आफू गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्ने भन्दै थापाले काठमाडौं ४ का मतदातासँग भोट मागेका थिए । मतदानको नतिजा हेर्दा उनलाई कांग्रेस समर्थकले मात्र होइन अन्य दल आवद्धले समेत भावी प्रधानमन्त्री हुने आशमा भोट हालेको देखिन्छ ।  भोट माग्दा एकथोक भन्ने अनि जितेपछि त्यो पूरा गर्न नसक्ने हो भने त्यो जनमतको अपमान हो । 

यति बेला कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा पार्टीमा पुस्तान्तरण हुनुपर्ने भन्दै सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई अभिभावकको भूमिकामा बस्न निरन्तर दबाब दिइरहेका छन् । तर, देउवाले भने भावी सरकारको प्रधानमन्त्री नै आफू नै हुनेगरि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई समेतसँग वार्ता थालेका छन् ।

कांग्रेसका नेताहरु पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतले मुखै खोलेर भावी सरकार पनि देउवाकै नेतृत्वमा बन्ने भनिसकेको अवस्था  छ । पार्टीमा पनि उनी नै बलिया छन् । संसदीय दलको नेतृत्व छान्ने चुनाव नै भएपनि उनलाई ६० प्रतिशत भन्दा बढी सांसदको समर्थन रहने देखिन्छ । गठबन्धनका बाँकी दलहरुले पनि देउवालाई रुचाउने निश्चित प्राय: छ ।

त्यसो त नेपाली कांग्रेसभित्र सभापति देउवा र महामन्त्री थापासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.शशांक कोइरालाले आकांक्षा राखेका छन् । आफूलाई भावी प्रधानमन्त्री भन्दै प्रतिनिधिसभा सदस्यका लागि भोट माग्नेमा वरिष्ठ नेता पौडेलले पनि चुनाव जितेलगत्तै काठमाडौं आएर सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरिसकेका छन्।

अर्का नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीको उम्मेदवार भन्दै भेटवार्ता अघि बढाएका छन् । कांग्रेसभित्र प्रधानमन्त्री बन्न अन्य पार्टीमा जस्तो सहज छैन। संसदीय दलको नेता मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने कांग्रेसको विधानमा स्पष्ट छ । त्यसकारण कांग्रेस संसदीय दलमा जो दलको नेता चुनिन्छ त्यो नै कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने अवस्था आए स्वतः उम्मेदवार हुन्छ ।

प्रधानमन्त्रीका आकांक्षी धेरै भए पनि संसदीय दलको नेताका लागि देउवा र थापाबीच नै अन्तिम प्रतिस्पर्धा हुने कांग्रेसकै नेताहरूको भनाइ छ । कांग्रेसभित्रको अंकगणित हेर्दा सभापति देउवाले इच्छा राख्दासम्म संस्थापन पक्षका तर्फबाट संसदीय दलको नेता पदमा अर्को उम्मेदवार बन्न सक्ने अवस्था छैन । त्यति मात्र होइन अनपेक्षित राजनीतिक परिदृश्यबाहेक देउवालाई संसदीय दलमा पराजित गर्ने इतर समूहको अंकगणित छैन । संसदीय दलमा संस्थापन पक्षको करिब दुईतिहाइ बहुमत हुने चुनावी परिणामले देखाएको छ ।

त्यसैले इतर पक्षका थापा वा कोइरालाद्वयले यथास्थितिमा चुनाव जित्ने सम्भावना छैन । इतर पक्षको तर्फबाट एकजना मात्रै उम्मेदवार भएको अवस्थामा र संस्थापन पक्षभित्र विवाद भएको अवस्थामा भने संसदीय दलभित्रको अंकगणित फेरिन सक्छ । ०५८ सालमा यसरी नै कांग्रेसमा अंकगणित फेरिँदा संस्थापनइतर समूहका नेता देउवाले संस्थापन पक्षका नेता सुशील कोइरालालाई भारी मतान्तरले पराजित गरी प्रधानमन्त्री बनेका थिए ।