काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर टिप्पणी गरेका छन् । मंगलबार एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले घण्टी पार्टीलाई कसले हावा भर्यो भन्दै प्रश्न गरे ।
उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे । उनले भने संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ ।
यस्तै उनले भूगोल र संस्कृति देशको पहिचान भएको भन्दै आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाउनु दुखद् भएको बताए । उनले भने देशको पहिचान मूलतः भूगोल र जनताले निर्धारण गर्छ । जनता भनेको संस्कृतिले गर्छ । कि संस्कृति कि भूगोल । भूगोल रहेन भने देश नै रहँदैन, भूगोलमा आफ्नै संस्कृति छैन र आफ्नो संस्कृतिप्रति गौरव छैन भने सानो प्रलोभन वा कुनै कारण आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाइन्छ भने त्यो दुखद् कुरा हो र त्यसले राष्ट्रलाई कमजोर बनाउँछ ।