काठमाडौं । भावी सरकार निर्माण बारे चर्चा चलिरहँदा भारतीय राजदूत नवीन श्रीवास्तवले दौडधुप बढाएका छन् ।
उनले शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएसँगै उनीहरु बिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए । राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताइएको भनिएको छ ।
यसैगरि सरकारमा सामेल अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि राजदूत नविन श्रीवास्तवले भेटेका छन् ।
शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भारतीय राजदूत श्रीवास्तवले नेपाली राजनीतिक वृत्तमा बढाएको सक्रियताले आगामी सरकार गठनमा भारतले हस्तक्षेप गर्ने आँकलन गर्न थालिएको छ ।
प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको भनिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचमा कुनै पनि दत तथा सत्ता गठबन्धनको बहुमत नआएसँगै भावी सरकार कसको नेतृत्वमा बन्ने, कुन कुन दल मिलेर सरकार बनाउने भन्ने विषयमा भारतले चासो बढाएको हुनसक्ने अनुमान गरिएको छ । यसै कारण भारत अनुकूल सरकार निर्माण होस् भनेर भारतले चासो र चिन्ता देखाएको हो ।