सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

परिणाम नआउँदै सत्ता गठबन्धनबीच खटपट

शुक्रबार, मंसिर ९ २०७९

काठमाडौं । चुनावको नतिजा नआउँदै सत्ता गठबन्धनमा किचलो सुरु भएको छ । १० देखि १५ बर्षसम्म गठबन्धन गरेर जाने बताउँदै आएका सत्ताधारी दलबीच चुनावी परिणामलाई लिएर घोचाघोच सुरु भएको छ । मत गणनाको दुई दिन पछि सरकारको मुख्य दल माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् ।
थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’

यसैगरी माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट प्रतिनिधिसभामा आफूले हारेपछि विजयी भएका एमालेका उपमहासचिव समेर रहेका पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै वाम एकताको पहल कदमी गर्न आग्रह गरे ।

यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । उनले भनेका छन्,  ‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्रः  बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं ।

सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन् ।’

चुनावी परिणामलाई हेर्दा सत्ता गठबन्धनका दलबीच भएको सहमति अनुसार मतदाताले उनीहरुलाई भोट नहालेको देखिन्छ । माओवादी, नेकपा एसका कार्यदेखि शुभचिन्तक मतदाताले तालमेल अनुसार कांग्रेसलाई भोट दिएको देखिन्छ भने कांग्रेसका मतदाताले सत्ता साझेदार दललाई मत नदिएको उनीहरुको आरोप छ ।गठबन्धनमा रहेका अन्य दल कांग्रेससँगको सहकार्यमा जनताले रुचि नराखेको, मन नपराएको भन्न थालेका छन् ।  जसका कारण गठबन्धनमा परिवर्तन अनिवार्य रहेको माओवादीकै नेताहरुले बताउन थालेका छन् ।

सरकार बनाउन गठबन्धन अनिवार्य

शुक्रबार विहानसम्मको अंकगणित हेर्दा नेपाली कांग्रेसले ४० स्थानमा जितेको छ भने ११ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । यसरी प्रत्यक्षतर्फ नेपाली कंग्रेसको ५० देखि धेरैमा ५५ सम्म सिट जित्ने देखिन्छ । त्यसैगरी, नेकपा (एमाले)ले २९ सिट जितेको छ भने १९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । यसरी एमालेको कुल सिट संख्या ४० देखि ५० कै हाराहारी प्राप्त गर्ने देखिन्छ । त्यस्तै, माओवादी १२वटा स्थानमा जितेको छ भने ५ स्थानमा अग्रता लिएको छ । यसरी माओवादीले पनि बढीमा १८ सिट जति प्राप्त गर्ने देखिन्छ । त्यस्तै, समाजवादी पार्टीको १० वटा जति र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि सात सिट जति प्राप्त गर्ने देखिन्छ । बाँकी सिट अन्य दलले जित्दै छन् । यसरी विभिन्न पार्टीहरूको मतलाई हेर्ने हो भने स्पष्ट बहुमत कुनै पार्टीको आउने देखिँदैन ।

प्रत्यक्षतर्फ १६५ सिट रहने प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको मतको मूल्यांकन हो यो । तर, ११० सिट भने समानुपातिक मतका आधारमा पार्टीलाई जान्छ । अहिले खसेको कुल मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले मोटामोटी समानुपातिकतर्फ करिब ८६ हजार मत प्राप्त गर्दा एउटा सिट प्राप्त हुने देखिन्छ । तर, दलहरूले अहिले प्राप्त गरिरहेको समानुपातिक मत संख्यालाई आधार मान्ने हो भने पनि कुनै दलको बहुमत पुग्ने देखिँदैन । यसर्थ सरकार गठनका लागि संसद्मा दुई वा सोभन्दा बढी दल मिलेर बनाउनुपर्ने देखिन्छ ।

चुनावी परिणामलाई लिएर सत्ता गठबन्धन भित्रका कांग्रेस बाहेका दलहरुमा असन्तुष्टि बढ्न थालेका कारण यो गठबन्धन कायम रहन सक्ने संका उत्पन्न हुन थालेको छ । यो गठबन्धन बाहेक अर्को कस्तो गठबन्धन बन्नसक्ला भन्ने निचोड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अब कसरी अघि बढ्ला त्यसमा पनि निर्भर हुन्छ । उसले ७ सीट प्रतिनिधिसभामा जितिसकेको छ भने १ सीटमा अहिले पनि अग्रतामै छ ।

यो चुनावी परिणामलाई हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने झै फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो नहोला भन्न सकिँदैन ।

यसैबीच  एमाले अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच बधाई साटासाट गर्दै टेलिफोन संवाद भएको समाचार पनि बाहिरिएका छन् । यदी यो साच्चै हो र उनीहरु पनि एकअर्का प्रति नरककरम भए भने पुन: वाम एकता नहोला भन्न सकिन्न । यसो भए कांग्रेस बाहिर बसेर स्वतन्त्र र साना पार्टी मिलाएर सरकार बन्न सक्छ । तर, त्यो सम्भावना ज्यादै कम छ ।