झापा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत झापा ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाबाट राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा लिङ्देन विजयी बनेका थिए । देशभरबाट पराजय भोगेको राप्रपाले यस क्षेत्रमा आफ्नो झण्डा गाडेको थियो ।
झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । उनको जित निश्चित रहेको राप्रपा झापा अध्यक्ष केशव ओझा दाबी गर्छन् ।
झापा–३ मा सत्तारुढ गठबन्धनबाट यस पटक पनि कांग्रेस नेता सिटौलाको उम्मेदवारी दिएका छन् । उनलाई गठबन्धनको साथ छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ ।
लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित सिटौला चुनावी मैदानमा उत्रिएका छन् । तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ । अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो । तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ ।
स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए । दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९, तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ ।
यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ ।
जसकारण स्थानीय तह निर्वाचनको भन्दा अहिले राप्रपाको मत बढी आउने राप्रपा नेताहरु बताउँछन् ।
पटक पटक सत्तामा पुग्दा सिटौलाले डुबान, नदी कटान, हात्ती आतंकजस्ता समस्या समाधानमा चासो नदिएको र यस समस्या समाधानमा लिङ्देनले काम गरेकाले पनि सिटौलाको पराजय र लिङ्देनको जितलाई मजबुद बनाएको राप्रपाको बुझाइ छ ।
पार्टी अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनको लोकप्रियता बढेको, राप्रपाप्रति आममतदाताले आशा राखेको, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने बताएका लिङ्देनको जितलाई सिटौलाले रोक्न कठिन हुने अनुमान गरिएको छ ।
यता लिङ्देनलाई पराजित गरेर बदला लिन दाउमा छन् सिटौला । पाँच दलीय गठबन्धनका बलमायसपटक आफूलाई यहाँका जनताले विजयी गराउनेमा सिटौला ढुक्क छन् ।