काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड झुट बोल्ने नेता भएको बताएका छन् ।
कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा जाँदा जापानका पूर्वप्रधानमन्त्री नेपाल आएका बेला ३ पटक भेटेको भन्दै झुट बोलेको बताए । उनले भने, यसरी नेपाल आउँदै नआएको जापानका पूर्वप्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्दा भेटेको भनेर विश्वलाई ढाट्नेले यहाँ आएर ढाँट्नु नौलो होइन ।’
फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको बताउँदै उनले यो अब धेरै दिन नटिक्ने बता उ ।उनले वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताउँदै आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताए ।
ओलीले भने, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पुर्याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्याएका छौँ ।’
एमालेले सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व(पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे ।
ओलीले भने, ‘भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्याएपछि झन् आत्तिए । देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुग्यो ।’
उनले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताए ।