कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ को चुनावबाट माधवकुमार नेपालकाे पार्टी र माओवादी केन्द्रको भविष्य सकिने दाबी गरेका छन् ।
शनिबार एमालेले कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै उनको पार्टी अगामी चुनावबाट सकिने बताएका हुन् ।
‘माधव नेपालको पार्टी यही चुनावबाट समाप्त हुन्छ, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीले यसो भिजाएर डल्लो पारेको पानी सुकेपछि भसाकभुसुक फुट्छ’ उनले भने ।
एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको दाबी गर्दै अध्यक्ष ओलीले भाँडो नै रित्तो भइसकेको दाबी गरे । ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ उनले भने ।
अध्यक्ष ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए ।
‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झेलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’ ओलीले भने ।
ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि भएको आरोप पनि लगाए । ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशकको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभएको बताए ।
‘विभिन्न दलहरुबीच जुन गठबन्धन भएको छ त्यो देशको विकास समृद्धिका होइन, ती दलका नेतलाई राष्ट्रियताप्रति चिन्ता र चासो छैन,’ ओलीले भने, ‘केवल जनतालाई झुटा आश्वासन दिएर चुनाव जित्नु र पछि भागबण्डा गरेर खानु एउटा मात्र उद्देश्य हो ।’
मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरु पश्चिम सेती, खुटीया दिपायल फास्ट ट्रयाक, सहजपुर बोगटान राजमार्गलाई पूर्णता दिने, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता गर्ने उनले बताए ।