सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गठबन्धनमा देश बनाउने नीति छैन, चुनाव जितिहाले कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर मारामार गर्छन् : अध्यक्ष ओली

शुक्रबार, कार्तिक २५ २०७९

झापा  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले चुनाव नजित्ने दाबी गरेका छन् ।
  
एमाले झापा निर्वाचन क्षेत्र नं ४ मा  बिहीबार आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेको बताए ।

अध्यक्ष ओलीले गठबन्धनका दलमा देश बनाउने कुनै नीति नभएको समेत बताए। देश बनाउने कुनै भीजन र नीति नै नभएपछि उनीहरुले आआफ्नो घोषणा पत्र लिएर चुनावमा गएको ओलीले बताए ।

एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले गठबन्धन दललाई निर्वाचनपछि कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरे ।

अध्यक्ष ओलीले भने, ‘उनीहरु एउटा गठबन्धनमा त छन् तर, सबैको आ–आफ्ना घोषणापत्र छन् । चुनावपछि के गर्छौ भन्दा एउटाले एउटा कुरा भन्दा अर्काले अर्को । गठबन्धन चाहिँ कायम राख्ने भन्छन् तर एउटा पूर्व जाने भन्छ अर्कोले पश्चिम । कुनै एउटा कार्यक्रम छैन ।’

आधुनिक नेपाल निर्माणको अगुवाई गर्ने पार्टी एमाले मात्रै भएकाले मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्ने बताएका छन् ।

देशमा देख्न/देखाउन लायक सबै काम एमालेले गरेको उनले बताए । ज्येष्ठ नागरिकलाई भत्ता सुरु गर्ने एमाले भएको बताउँदै उनले भने, ‘एमालेले सरकार गठन गर्नु अघिका कुनै सरकारले ज्येष्ठ नागरिकलाई सम्झिएनन्, एमालेले महिनाको एक सय रुपियाँबाट सम्झिएको जेष्ठ नागरिक भत्ता आज दिनको १३३ भन्दा बढी भएको छ, महिनाको चारहजार पुर्याइएको छ, अपाङ्गता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।’
सडकमा पुगेका बालबालिका, असहाय मानिसको व्यवस्थापन, भिखमङ्गारहित देश बनाउने अभियान, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवती र सुत्केरीको उद्धारको काम एमालेले गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने काम पनि एमालेले गरेको हो ।’