कर्णाली प्रदेश । नेकपा एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको सिंगो कमिटी नै एमालेमै फर्केको छ। एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् ।
एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुनै औचित्य नहेको बताए । उनले बहुमत सदस्यसहित सबै एमालेमै फर्केकाले मंसिर ४ मा हुने निर्वाचनमा एमालेलाई पहिलो बनाउने बताए ।
स्थानीय तहका जनप्रतिनिधिबाहेक अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किन लागेको एक नेताले जानकारी दिए । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्लामा परेको थियो।
एकीकृत समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको औचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको एमालेका अध्यक्ष शान्तिलाल महतले बताए । पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने उनको दाबी छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रतननाथ योगी छन् । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

