सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ’

शनिबार, कार्तिक १९ २०७९

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगर र वैतडीमा आयोजित चुनावीसभामा उनले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए ।

विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ साल र २०५६ सालमा गरी तीनपटक बहुमत प्राप्त गरे पनि पाँचबर्ष सरकार चलाउन नसकेको बताउँदै एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट गरे ।

‘२०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर अहिले हल्ला चलाइँदैछ, त्यस्तो होइन’ उनले भने–‘२०७४ मा एमालेलाई प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ सिट गरी १२१ सिट आयो । प्रचण्डजस्ता पीँध नभएकालाई ल्याएर बहुमत पुर्याई सरकार गठन र पार्टी एकतासम्म गरियो तर सुग्रिवहरुले घरै भत्काएर गए । त्यसकारण यसपाली एमालेले एक्लै बहुमत ल्याउनुपरेको छ ।’

अध्यक्ष ओलीले अन्य मुलुकहरुको विकास राजनीतिक स्थायित्व र सुदृढ सरकारका कारण भएको तर नेपालमा भने च्याँखे थाप्नेहरुले बाजी मार्ने गरेको बताए । 

कुनै नीति, कार्यक्रम र गन्तव्य नभएका छतिर फर्केका गठबन्धनमा रहेका दलहरुले ‘काले काले मिलेर खाउँ भाले’ जस्तै देशलाई कसैले खुट्टा, कसैले हात, कसैले पीठ्युतिरबाट गिद्धले जस्तै लुछिरहेको बताउँदै अध्यक्ष ओलीले सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको बताए ।