मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडे चोक बस्ने ३५ वर्षीय राजु कार्कीको टिनको छाना तथा ट्रस जडान गरेको घरमा शनिबार राति विद्युत सर्ट हुँदा कार्कीको कपडा पसल तथा सँगै सटरमा रहेको एग्रोभेट, होटल र फलफुल पसलमा समेत आगलागी भई करिब १ करोड ६५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी उदयपुरको कटारी नगरपालिका–८ सिरिसे ढुङगे बस्ने पूर्ण बहादुर थापा मगर समेत ३ जनाको घरमा शनिबार दिउँसो आगलागी हुँदा तीन जनाको घर र घरभित्र रहेको सुनचाँदी, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर ४६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्युठानको झिमरुक गाउँपालिका–१ बडाचौर बस्ने ३५ वर्षीय मैत बहादुर बिकको घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा घर र घरभित्रमा रहेको सरसामान जलेर करिब ६ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

ओखलढुंगा, सिद्दिचरण नगरपालिका–२ डाँडागाउँ बस्ने राजन कटवालको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।