काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आजै भरे साँझ लक्ष्मी माताको बास होस् भनेर घरको आगनदेखि मुल ढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ ।
माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दियो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ ।
लक्ष्मीसँगै भगवान गणेशको पनि स्थापना गरिन्छ । दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरु गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ ।
आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ ।