बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

देश लुटेर खाने बाहेक गठबन्धन सरकारले केही गर्न सकेन : अध्यक्ष ओली

शुक्रबार, कार्तिक ४ २०७९

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि एमालेलाई जनताले सरकारको नेतृत्वमा पुर्याउने बताएका छन् ।

उनले मंसिर ४ पछि मुलुकमा एमालेको सरकार बन्ने बताउँदै सूर्य चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको बताए । 

आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको र देशको विकास गर्न एमालेकै सरकार चाहिने अध्यक्ष ओलीले बताए ।
एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र सङ्कटमा परेको उनले बताए ।

अरूका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उनले बताए । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेको बताए । उनले नेपाली जनताले हिजो देखेका विकासका सपना आज विपनामा परिणत भएको समेत बताए ।