बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी

बुधबार, असोज ५ २०७९

काठमाडौं । आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् । 

गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 

अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ,’ उनले भने । फिल्म पारिवारिक ड्रामा रहेको उनले बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् । 

उनीहरू प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हँुदैन । यो कथाले हरेकलाई छुन्छ,’ आचार्यले भने । 

गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौँ । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ,’ उनले भने ।