काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ ।
पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएकाे हाे ।
स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए ।
घिमिरेको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
साथै, उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।