काठमाडौँ – प्रुमख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको अवसरमा आगामी असोज १ गते वाकाथन आयोजना गर्ने भएको छ। असोज १ गते बिहानै राजधानीका विभिन्न चोकबाट प्रातस्कालीन पैदल यात्रा कार्यक्रम आयोजना गरिएको हो।
एमालेले असोज ३ गते पर्ने संविधान दिवसको २ दिनअघि यो कार्यक्रम गर्न लागेको हो। मंसिर ४ को चुनावी तयारी पूरा गरिसकेको एमालेले विशेष सन्देश दिने गरी यो कार्यक्रम गर्न लागेको हो।
एमाले प्रचार विभाग उपप्रुमख विष्णु रिजालले चुनावी अभियानतिर जानुपर्ने भएपछि असोज १ मै यो कार्यक्रम गर्न लागिएको बताएका छन्।
रिजालका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।