बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

धाधली गर्नकै लागि कांग्रेस सधैं सत्तामा बसेर चुनाव गराउन चाहन्छ : अध्यक्ष ओली

बुधबार, भाद्र २९ २०७९

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने दाबी गरे । आफ्नो भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।

थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए ।

साथै उनले नेपाली काँग्रेसलगायतका गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताए । प्रहरी र प्रशासनलाई निश्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भने, ‘कुट्ने, काट्ने, मार्ने र थुनाउने योजना बनाएका छन् । काँग्रेस आफै सत्ताबसेर चुनाव गराउन नपाए भाग नलिने भन्नुको अर्थ यही रहेछ ।’

चुनावको मुखमा जनता भड्किन्छन् भनेर अहिले एसपीपी रोकिएको हो, चुनावपछि सरकार बनाउन पाए काँग्रेसले एसपीपी पारित गर्ने बताए । ‘काँग्रेसको तयारी यही हो ’ उनले भने ।

धाँधली गर्नकै लागि कांग्रेसले सधैं सत्तामा बसेर चुनाव गराउन चाहने उनले आरोप लगाए ।

सो अवसरमा विभिन्न दलबाट एमाले प्रवेश गर्नेहरुलाई पनि ओलीले स्वागत गरे भने तमु गुरुङ समुदायका झाँकीहरु समेत देखाइएका थिए ।