काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकिएको छ ।
महाभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा राणासँग मंगलबार पाँचौँ दिनको जवाफ लिइएको थियो । यसअघि ३५ वटा प्रश्न सोधिएकोमा मंगलबार बाँकी आठवटा प्रश्न सोधिएको थियो ।
पूरक प्रश्नका लागि पुनः उनलाई बोलाइने महाभियोग सिफारिस समितिले जनाएको छ ।
यसैबीच, बयानका क्रममा राणाले नाम लिएका व्यक्तिहरूलाई बुधबार सिफारिस समितिले बोलाउने तयारी गरेको समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए ।
समितिसँगको बयानमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन भन्दै दूतका रूपमा नेपाली कांग्रेसकी नेतृ डिना उपाध्यायलाई पठाएको, नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश सिफारिसमा दबाब दिएकोसहित सर्वोच्च अदालतका न्ययाधीशहरूको पनि नाम लिएका छन् ।
समितिले नेपाल बार एसोसिएसनका पूर्व–पदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय समितिले गरेको समितिको प्रवक्ताका रूपमा नवनियुक्त सचिव लक्ष्मीप्रसाद गौतमले बताए । ‘समितिको बैठक जारी छ उहाँले नाम लिनुभएकाहरूसँग बयान लिने निर्णय समितिले गरेको छ,’ गौतमले भने ।
जबराले महाभियोग सिफारिस समितिलाई जवाफ दिने क्रममा प्रश्नको जवाफ मात्रै होइन आफूलाई निलम्बनमा पार्न ‘बाध्य गराउनेहरू’ नियोजित प्रयासलाई समेत प्रकट गरेका छन् ।
उनले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य तथा केही वकिलप्रति टिप्पणी गर्दै उनीहरूले न्यायाधीशमा भाग नपाएको, अदालतमा सेटिङ गर्न नपाएको कारण आफ्नो विरोध गरेको आरोप लगाएका छन् ।
पूर्व–न्यायाधीश र पूर्व–प्रधानन्यायाधीशहरू पूर्व भइसकेपछि पनि मध्यभागमा बस्न खोज्दा समस्या उत्पन्न भएको जबराको आरोप छ । पूर्व–प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की लगायतले अहिले पनि भाग खोजेको र आफूहरूले भाग नदिँदा उनीहरु आफूविरुद्ध लागेको उनको आरोप छ ।
सर्वोच्च अदालतमा पहिले सात÷आठजना वरिष्ठ अधिवक्ताहरूको गिरोह रहेको र त्यस गिरोहले सर्वोच्चमा सिण्डिकेट चलाएको उनको आरोप छ ।
आफूमाथि सम्पत्ति शुद्धीकरणको रिट दर्ता गर्न जानेमा सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल रहेको भन्दै ओमप्रकाशको श्रीमतीलाई न्यायाधीश नबनाइदिएकै कारण आफूमाथि रिस साँधेको जबराको आरोप छ ।