बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सिट बाँडफाँटमा सकस : आधा सिटमा सहमति अरुमा त्रिपक्षीय दाबी

मंगलबार, भाद्र २८ २०७९

काठमाडौं । सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका हुन् ।

बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । हिजो पनि कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ।

कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरूको भनाइ छ।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ।

 निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ । 

सोमबार पनि ५ घण्टा बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

उनका अनुसार एउटै सिटमा दोहोरो÷तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।