काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।
आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए ।
जारी बैठक सिट बाँँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्ने भएका हुन् ।
खनालले हिजोको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच दिनहुँजसो सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्षमा पुगेको छैन ।
गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाए पनि बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ ।
कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । त्यसयता विवाद रहेका विषयमा शीर्ष नेताहरू सहमति गर्न छलफलमा जुटेका छन् ।