बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मिडिया काउन्सिल विधेयकको विरोध

सोमबार, भाद्र २७ २०७९

काठमाडौं । सङ्घीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्न नहुने भन्दै सरोकार पक्षले संसदीय समितिलाई ध्यानार्षण गराएका छन् ।  

तराई विकास तथा सञ्चार केन्द्रले सो विधेयकबारे आइतबार सरोकारवालासँग राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कासमक्ष वरिष्ठ सञ्चारकर्मीहरूले पत्रकारको अहित गर्ने गरी कानून ल्याउन नहुने बताएका हुन् । 

पत्रकारको सुझाव ग्रहणपछि सभापति खड्काले प्रेस जस्तो संवेदनशील विषय हतारमा कानून ल्याउन नहुने बताइन्। उनले मिडियाको विकास र सम्वद्र्धन गर्न गम्भीरतापूर्वक लाग्ने सवालमा प्राथमिकता दिनुपर्ने पक्षमा आफू रहेको र प्राप्त सुझाव मनन् गरिने विश्वास दिलाइन् ।

विधेयकबारे सरोकारवालासँग राखेको अन्तरक्रियामा वरिष्ठ पत्रकार एवं इकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौंलागाई, प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, प्रेस चौतारीका उपमहासचिव सुरोजंग पाण्डे, सर्वोच्च अदालत बार एसोसिएसनका सदस्यसमेत रहेका पत्रकार अनन्तराज लुइँटेल, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झालगायतले विभिन्न सुझावहरू राखेका थिए । 

वरिष्ठ पत्रकार हरिबहादुर थापाले सुरुमा आउँदा अपारदर्शी र अधिनायकवादी सोचका साथ ल्याइएको भनिएको यो विधेयक अहिलेको सरकारले ल्याएकोमा आश्चर्य प्रकट गरे ।