पश्चिम नवलपरासी – राष्ट्रिय भुमी आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले आउँदो मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चनाव अगावै सुकम्बासी समस्या समाधानको लागि पक्रिया भित्र छिराइसक्ने बताएका छन् ।
आइतबार सुस्ता, १ बनदेवीमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा आयोगका अध्यक्ष भण्डारीले हालको आयोग गठन सँगै निकै तिव्रताका साथ काम गरेको बताउँदै मंसिर ४ गते भित्र अधिकांश काम सकिने बताएका हुन् ।
उनले विसं २०३० साल पछि हालको आयोग २२ औँ आयोग भएको हुँदा यस पटक भने यसअघिको आयोगले तयार गरेको कागजातहरुलाई आयोगको सफ्टवेयरमा इन्ट्रि गराएर नापी कार्यालयमा पठाउने र अझै छुटेका लक्षीत वर्गहरुलाई पक्रियामा समेट्ने लागिएको बताए ।
उनले दश वर्ष जोतभोग गरेको जग्गाको जग्गाधनी पुर्जा उपलब्ध गराउने मापदण्ड तय भई सोही निर्देशन आफूहरुलाई आएको समेत बताए ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले यस अघिको गाँउपालिका अध्यक्ष राम प्रसाद पाण्डेको कार्यकालमा संकलन गरिएको कागजातहरुलाई पक्रियामा अगाडी नबढाइएको कारण ढिलाई भएको गुनासो गरे । मंसिर ४ गतेको निर्वाचन पछि पनि यही आयोग कायम रहने भन्दै नेपाल सरकार तथा आयोगले समस्या समाधान नगरेको खण्डमा आफू सिंहदरबारमा पुगेर धर्ना बस्ने बताए ।
त्यस्तै भुमी आयोग पश्चिम नवलपरासीका सदस्य भविश्वर तिवारी आजादले यस पटकको आयोग निकै शक्तिशालि आयोग रहेको हुदाँ आफूहरु दिनरात खटिएर काम गरेकाले समस्या समाधान गराएर छाड्नै प्रतिवद्धता व्यक्त गरे । यस पटकको आयोग नक्कली आयोग नभएको भन्दै उनले निर्वाचनको संघारमा आयोग गठन भएतापनि अर्को पटक जनताको अगाडी मुख देखाउन लायक हुने गरी समस्याको समाधान गरिने बताए ।
भुमी आयोग पश्चिम नवलपरासीका सदस्य लक्ष्मी भुषालले भुमिहिन सुकुम्बासी समस्या समाधानको लागि यो नै अन्तिम आयोग रहने भन्दै आफूहरुकै कार्यकालमा जग्गा धनी पुर्जा वितरण गर्ने बताइन् ।
कार्यक्रममा सहभागीहरुले त्यस क्षेत्रका बासिन्दाहरुले निकै लामो समयदेखि सुकुम्बासी समस्या भोग्न बाध्य भएको भन्दै मंसिर ४ अगावै समस्या समाधान गर्नुपर्ने धारणा राखे । उनीहरुले यसअघिको गठित कयौं आयोगबाट आश मात्रै देखाइएको भन्दै यस पटक बास्तवमै समस्या समाधान हुुनुपर्ने बताए ।