काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्मचारीलाई छानिछानी सरुवा गरेर सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
निर्वाचन घोषणा भइसकेपछि सरकारले कर्मचारी सरुवा गरेकोप्रति आपत्ति जनाउँदै एमालेले आसन्न निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई सरकारले व्यापक बनाएको आरोप लगाएको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न सरकारले प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको बारे भने, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा आफ्ना मान्छेहरू छानीछानी जिल्ला जिल्लामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई पठाउने काम भएको छ । स्थानीय तहमा पनि त्यसरी नै प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भएको छ । यो तरिकाले निर्वाचनलाई प्रभावित पार्नेगरी आफ्ना मान्छेहरू छानीछानी लाने काम गरिएको छ ।’
निर्वाचन आयोगको अनुमतिमा रिक्त पदहरूमा कर्मचारी खटाउनुपर्ने तर सरुवा गर्न नहुने भन्दै भट्टराईले भने, ‘रिक्त भएका ठाउँमा पठाउने भए निर्वाचन आयोगको अनुमतिले पठाए हामीलाई केही छैन तर रिक्त भएका ठाउँमा हैन सरुवा गरेर अलिकति पनि हामीलाई सघाउँदैन कि भन्ने लागेर, ठ्याक्कै सघाइहाल्ने, बोकेरै हिँड्ने, मिल्ने भए झण्डै बोक्ने मान्छेलाई पठाउने काम अहिलेको सरकारले गरिरहेको छ । जाने मान्छेहरूलाई पनि भन्न चाहन्छौँ एमाले चुप लागेर बस्दैन ।’ गृह मन्त्रालयले बुधबार नौ जिल्लाका सिडिओको सरुवा गरेको थियो ।
एमालेले स्ट्याण्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेकोप्रति विरोध जनाएको छ । एमालेले क्षितिजलाई पक्राउ गरेर सरकारले कलाकारमाथि अत्याचार र दमन गरेको आरोप पनि लगाएको छ । भट्टराईले स्ट्याण्ड अप कमेटियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाए । उनले भने, ‘एकजना हास्य कलाकार अपूर्व क्षितिज सिंह आफ्नो हास्य प्रस्तुति गरेबापत १० दिनदेखि थुनामा हुनुहुन्छ । उहाँले कला प्रस्तुति गर्ने क्रममा अलिकति हास्य प्रस्तुतिका क्रममा केही कसैलाई मर्का पर्यो होला । कसै न कसैलाई मर्का पर्ने नै प्रस्तुति हुन्छ हास्य कलाकारमा । अपूर्व क्षितिज सिंहजस्तो एउटा कलाकारलाई दशौँ दिनदेखि थुनामा राख्ने क्रिया यो सरकार गरिरहेको छ । उहाँलाई शीघ्र रिहाइको माग गर्न चाहन्छु । उहाँलाई थुनेर कुनै पनि खालको अत्याचार नगरियोस् र कलाकारमाथि दमन नगरियोस् ।’
अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । अपूर्वले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो ।