काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताएका छन् ।
यही बेलामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रतिनिधिसभा चुनावमा उम्मेदवार उठाउने चर्चा भइरहेको छ ।
निर्वाचनसम्बन्धी एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।
‘हामी पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’ उनले भनेका थिए ।
तर कुलमानले भने यस विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन् । दोस्रो चारवर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ।
उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादीले चर्को फोर्स लगाएको थियो ।
केही समयअगाडी माओवादीले आफ्नो पोस्टरमा समेत कुलमानको फोटो हालेको थियो । पछि चर्को आलोचना र कुलमान स्वयंले त्यसमा आपत्ति जनाएपछि माओवादीले फोटो हटाएको थियो ।