काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीचपर्यटन प्रर्वधनमा हुनसक्ने सहकार्यका साथै दुईदेशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।
नेपाल र कतारबीच दौत्य सम्वन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्दे मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए । दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनिहरुबिच छलफल भएको थियो। आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उनीहरुबिच छलफल भयो। नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको राजदुत हैलले बताए ।
नेपाल–कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालन गर्नेबारे पनि छलफल भएको थियो । राजदुत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन् ।