काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा बिहीबार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रूपमा बनाइएको संरचना भत्काइएको हाे ।
महानगरभित्र नक्सा पासबिनै अवैध रूपमा निर्माण गरिएका संरचना भत्काउन मेयर साह आफैँ फिल्डमा उत्रिएका थिए ।
बुधबार मेयरकै उपस्थितिमा सुन्धारा, न्युरोड क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनामा डोजर चलाइएको थियो भने बिहीबार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रूपमा बनाइएको संरचनामा डोजर चलाइएको हो ।
बिहीबार दिउँसो सो भवनको पार्किङस्थलमा अवैध रूपमा निर्माण गरिएको बेसमेन्टको संरचनामा डोजर लगाइएको हो ।
यसअघि त्यहाँका कर्मचारीहरूले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काएका हुन् ।
मेयर साहले यसअघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । घरको नक्साका विषयमा उनीहरुबीच चर्काचर्की भएको थियो ।पछि मेयर साह आफैँले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिएका थिए ।
महानगरले यसैसाता नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अण्डरग्राउण्डमा राखिएका पसल पनि भत्काएको थियो । अण्डरग्राउण्ड पार्किङका लागि भनेर बनाइएका घर तथा सपिङ मल व्यावसायिक रूपमा भाडामा लगाएको पाइएपछि महानगरले भत्काउन सुरु गरेको हो ।
३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।