बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

फोहोरलाई राजनीतिकरण गर्नु हुँदैन,दीर्घकालीन उपाय खोजौं :  प्रकाशमान सिंह

शनिबार, भाद्र ४ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताएका छन् ।

शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने बताए । 

उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

साथै उनले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 
महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।  नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।  

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको उनको भनाइ थियो।