काठमाडौं । संसदमा निर्णयार्थ प्रस्तुत नागरिकता विधेयकमाथिको मतदानमा सत्तारुढ गठबन्धनमा एक रुपता देखिएन । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा विधेयकको विपक्षमा उभिएको छ भने अन्य दल पक्षमा देखिए ।
बिहीबार भएको मतदानमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले बिद्येयकको विपक्षमा मतदान गरिन् ।
सत्तारुढ नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीलेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी थिइन् ।
सांसद चौधरीले दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको बताएकी थिइन् । विधेयकमा रहेको वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सोचनीय रहेको उनको भनाइ थियो ।
उनले नागरिकता विधेयक फिर्ता गर्नु र यसलाई छलफलमा ल्याउनु उचित हुने बताउँदा विपक्षी दलका सांसदहरुले सदनमै समर्थन गरेर ताली बजाएका थिए ।
नागरिकता विधेयकको मतदानमा एमालेका सांसदहरुले विपक्षमा मतदान गरेका थिए । सत्तारुढ दलका अन्य सांसदले भने पक्षमा मतदान गरेका थिए । मतदानमा पक्षमा १३५ र बिपक्षमा ६० मत परेको थियो ।