बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गाह्रो छ सत्ता गठबन्धनमा सिट बाँडफाँट, आ-आफ्ना दाबी प्रस्तुत

शुक्रबार, भाद्र ३ २०७९

काठमाडौं । सरकारमा सामेल रहेका दलहरुले मंसीर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  तालमेल गरेर जाने निर्णय गरेका छन् । सोही अनुसार उनीहरुले सिट बाँडफाँडका लागि कार्य दल समेत बनाएका छन् । तर सत्ता गठबन्धनलाई सिट भागबण्डाको विषय दिनदिनै पेचिलो बन्दै गएपछि कार्यदलले तोकिएको समयसीमामा भागबण्डा टुंगो लगाउन सकेको छैन ।

कृष्ण सिटौला नेतृत्वको कार्यदललाई शीर्ष बैठकले साउन मसान्तसम्मको अवधि दिएको थियो । तर, त्यस अवधिमा तीनवटा औपचारिक बैठक भए पनि कसले कति सीट पाउने भन्ने टुंगो लागेको छैन । सिटौलाले शीर्ष नेतासँग भेटेर सबै दलको आआफ्नो दाबी सुनेपछि प्रस्ताव बनाउने बताइएको थियो ।

यसैबीच सत्ता गठबन्धन भित्रै उपगठबन्धन समेत बन्न थालेका छन् ।

सत्ता नेतृत्व गरिरहेको प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलहरूले दाबी गरेको सिटमा अडान कायम रहँदा गठबन्धनभित्र वामपन्थी उपगठबन्धन बनाउने तयारी थालिएको हो ।

गठबन्धनको ठूलो दल कांग्रेसले १०० सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । यसैगरी, गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सिटको माग गरिरहेको छ ।

गठबन्धनको अर्को घटक जसपा पनि ३० देखि ३५ सिट पाउनुपर्ने प्रयासमा लागिरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिट रहे पनि गठबन्धनका प्रमुख दलले नै २३० भन्दा बढी सिटमा आकांक्षा देखाएका छन् । यसले सत्तारूढ दलभित्रको लेनदेनको विषय सजिलै टुंगिने छाँटकाँट देखिएको छैन ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी वाम गठबन्धनको प्रयासमा जुटेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच सदस्यले यसअघि औपचारिक छलफल पनि चलाएका थिए ।

वाम गठबन्धनका केही समय पहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको थियो । उनीहरुबीच तत्कालीन नेकपा वियूँत्याउनेसम्मको विषयमा कुरा चलेको थियो । 

शीर्ष नेताहरु सम्मेलित छलफल पनि ठोस निष्कर्ष पुग्न सकेन । तर, अहिले सत्तारूढ गठबन्धनभित्र सिट भागबण्डा गर्ने विषयमा समस्या भएपछि गठबन्धनभित्र उपगठबन्धनको चर्चा फेरि चुलिएको छ ।

नेताहरूका अनुसार सत्ता गठबन्धनभित्रै वाम गठबन्धन गर्नुको उद्देश्य हो– नेपाली कांग्रेससँग बढी सिटका लागि बार्गेनिङ गर्ने । एमालेसँगको सहकार्यको विषयमा पनि छलफल भएको थियो । तर, छलफलले एमालेसँग तत्काल एकता र सहकार्य सम्भव नरहेको निष्कर्ष निकालिएको थियो । सत्तारूढ वाम पार्टीका नेताका अनुसार गठबन्धन कायम राख्ने र गठबन्धनभित्रै वामपन्थीहरू मिल्ने कुराकानी भएको छ ।

नेकपा माओवादी केन्द्रले चुनावपछि सरकार निर्माण गर्नका लागि आफ्नो निर्णायक भूमिका रहने गरी रणनीति बनाइरहेको देखिन्छ । त्यसको लागि कांग्रेस र एमालेलाई हाराहारी अवस्थामा ल्याउने र चुनावपछि सरकारको नेतृत्व हत्याउने उसको दाउ रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र( लगायतका दलसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरिसकेको छ । पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्वीकृत दिने निर्णय गरेको हो । यसअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नै पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसदिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताएका थिए ।