काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।
यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो ।
माओवादी बैठक बुधबार पनि बसेको थियो ।
माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी छ । अन्य पदाधिकारीमा खास समस्या नभएपनि महासचिवको विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलो बनेको छ ।
प्रचण्डले केही दिन यता देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका छन् । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । नारायणकाजी श्रेष्ठले यस अघि नै उपाध्यक्षको जिम्मेवारी पाइसकेका छन् ।