बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कार्यदलले सिट बाँडफाँट टुंगो लगाउन सकेन, शीर्ष नेता नै जुटे छलफलमा 

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । गठबन्धनले सिट बाँडफाँटका लागि तयार पारेको कार्यदलले बाँडफाँटको खाका तयार पार्न नसकेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू नै छलफलमा जुटेका छन् ।

आज उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।

आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेको हो ।

कर्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।

२० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

११ सदस्यीय कार्यदलका संयोजक सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो । तर,  कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन सकेन ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ छन्  । यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदलका एक नेताका अनुसार सत्ताको नेतृत्व गरेको दल कांग्रेसले १०० सीटको दाबी गरिरहेको छ भने यसैगरी कम्तिका ६० सीट आफ्नो भागमा पर्नुपर्ने अर्को घटक माओवादी केन्द्रको दाबी छ । बाबुराम भट्टराई र वामदेव गौतमलाई पनि आफ्नै भागबाट सीट सुरक्षित गर्नुपर्ने भए माओवादीले अझ केही सीट थप दाबी गर्ने बताउँदै आएको छ ।

-फाइल तस्वीर