शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

लुम्बिनीमा मन्त्री हेरफेरको तयारी

आइतबार, साउन ८ २०७९

रुपन्देही  । लुम्बिनी प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी भएको छ ।

सरकारमा सामेल मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्री हेरफेरको तयारी गरेका हुन् । 
गत साउन २६ गते बाँकी १६ महिना आधा–आधा कार्यकाल सरकार चलाउने गरी सत्ता साझेदार दल माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाबीच सहमति भएको थियो ।

सहमतिअनुसार फागुनमै मुख्यमन्त्री केसीले सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । सुरुमा कांग्रेसको आन्तरिक विवादमा खेलेर मुख्यमन्त्री केसीले समय लम्ब्याए भने लगत्तै स्थानीय तहको निर्वाचन, त्यसपछि नीति तथा कार्यक्रम र बजेटले ढिलाई भयो ।

मुख्यमन्त्री नै फेर्नेगरी सहमति भएपनि तत्कालका लागि सत्ता गठबन्धनका शीर्ष नेताबीच सहमति नजुटेकाले प्रमुख साझेदार नेपाली कांग्रेसले मन्त्री फेरबदल गर्ने तयारी गरेको छ ।

यद्यपि सबै मन्त्रीलाई फिर्ता बोलाउने या केहीलाई मात्रै हेरफेर गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

संघ र प्रदेशको निर्वाचन नजिकै आएको र मन्त्रीको कामसमेत प्रभावकारी नभएकाले मन्त्री परिवर्तन गर्नुपर्ने आवाज माओवादीभित्र पनि उठेको छ ।

यस प्रदेशमा १७ जना मन्त्री रहेकोमा विमलाकुमारी वली खत्रीले राजीनामा दिएपछि १६ जना बाँकी छन् ।

नेपाली कांग्रेसबाट फकुरुद्दिन खान, निर्मला क्षेत्री, बैजनाथ कलवार, रमा अर्याल, भुवनेश्वर चौधरीले दौडधुपमा छन् । 

यसैगरी माओवादी केन्द्रबाट यसअघि मन्त्री भइसकेका सुदर्शन बराल, सांसदहरू दामा शर्मा, तुलाराम घर्ती बसन्त, दिपेन्द्र पुनमध्येबाट मन्त्री बनाउने तयारी भइरहेको छ । यी सांसदहरुलाई गत साउन महिनामा सरकार बन्ने समयमै ८ महिनापछि चुनावी नेतृत्व गर्ने सरकारको मन्त्री बनाउने आश्वासन दिइएपनि १ वर्ष पूरा हुँदासम्म सहमति कार्यान्वयन नभएको बताउँदै आएका छन् ।

कांग्रेसमा भने वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्धिन खाँन, राज्यमन्त्री रिना नेपाल विक र अर्जुन श्रेष्ठलाई परिवर्तन गर्ने तयारी छ ।

कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री केसीले परिवर्तन गर्न चाहेका छैनन् । तर, कांग्रेसकै एउटा समूह उनलाई पनि हटाउनुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना र नेकपा एसका मन्त्री भने तत्काल हेरफेर गर्ने सम्भावना छैन ।