न्युयोर्क । गुगलका सह-संस्थापक सर्गेई मिखायलोभिच ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् ।
विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए ।
२१ अगस्त १९७३ मा तात्कालिक सोभियत संघको राजधानी मस्कोमा जन्मिएका ब्रिनले सन् २०१८ को नोभेम्बर ७ मा विहे गरेका थिए । यी दुईबीच सन् २०१५ मा देखभेट भएको थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन् । ब्रिनको परिवार उनको उमेर छ वर्षको हुँदा सोभियत संघबाट अमेरिका सरेका थिए।
क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।
सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए ।
-एजेन्सी