बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भ्रष्टाचारको दुर्गन्ध र फोहोरको डंगुरमाथि रामकुमारी राजनीति

शुक्रबार, जेष्ठ २७ २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको राजनीति भ्रष्टाचारको दुर्गन्ध र उपत्यकाको फोहोरको डंगुरमाथि क्रियाशील भएको छ।

काठमाडौं र ललितपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेका कारण सहरी विकास मन्त्री झाँक्रीसँग समन्वय अनिवार्य हुन्छ। काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह र ललितपुरका मेयर चिरीबाबु महर्जनले झाँक्रीसँग समन्वय गरी फोहोर व्यवस्थापनको उचित विकल्पका विषयमा प्रस्ताव राखे पनि त्यहाँ झाँक्रीले राजनीतिक सोध र कमिशनका लागि षडयन्त्र गरेको आरोप लागेको छ।

स्रोतले भन्यो,‘काठमाडौं महानगरपालिकामा मेयरको जितसँग उनी खुसी छैनन्। पहिलो त राजनीतिक रुपमा प्रतिशोध र दोस्रोचाहिँ फोहोर व्यवस्थापनमा हुने आर्थिक विषयमा उनको ठूलो चासो छ।’

झाँक्री मन्त्री भएका दिनदेखि नै राजनीतिक भन्दा पनि विकासलगायतका विषयमा नाफा र कमिशनतिर बढी चासो राख्दै आएको आरोप लागेको छ। उनले नेकपा एकीकृत समाजवादी पार्टीले सोधेका यस्ता आरोपका विषयमा आन्तरिक रुपमा जवाफ दिएकी छैनन् भने मन्त्री पद जोगाउनका लागि अध्यक्ष माधव नेपाल र सचिवालयको समेत अपमान हुनेगरी  प्रधानमन्त्री शेरबहादुर देउवाको दैलो धाउने गरेकी छन्।

उता बिचौलिया र ठूला ठेकेदारको आर्थिक प्रभावका आधारमा झाँक्रीले काठमाडौं उपत्यकामा ३० तला भन्दा ठूला भवन निर्माण गर्न स्वीकृत दिनुपर्ने प्रस्ताव पनि मन्त्रिपरिषदमा लैजान लागेकी छन्। उच्च स्रोतले भन्यो,‘ठूला ठेकेदारको आर्थिक प्रभावका आधारमा नै उनले यस्ता निर्णय गरिरहेकी छन्।’

कतिपय ठेकेदारको काम पूरा नगरेको तर लाभ लिइसकेका कारण पार्टीले मन्त्री पदबाट हटाउने निर्णय रोक्नका लागि पनि झाँक्री नै सक्रिय भएकी थिइन्। ‘एमाले विभाजन गरी सरकारमा जानका लागि हात समातेर माधव नेपाललाई निर्वाचन आयोगसम्म लैजाने झाँक्रीको योजना अहिले खुल्दैछ’, उनीनिकट एक स्रोतले भन्यो,‘अहिले तिनै अध्यक्षको निर्णय र निर्देशन पनि लत्याउन थालेकी छन्।’

अर्कातिर विवादीत अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा एकीकृत समाजवादीको धारणा उल्ट्याउन पनि झाँक्री सक्रिय रहेको कथन छ।