काठमाडौं । नेकपा एमाले नेता केशव स्थापित अधिकांश काठमाडौं महानगरवासीले सुनेको नाम हो ।
अझ काठमाडौं महानगरवासीका लागि त मेयर साबबाट उनी परिचित छन् । उनले यसअघि मेयर हुँदा गरेका कामहरुको आधारमा महानगरवासीका लागि उनी विकासका पर्याय हुन् भन्दा फरक नपर्ला । यसअघि उनी दुईपटक काठमाडौं महानगरपालिकाको मेयर भएका छन् ।
उनी पहिलो पटक बि.सं. २०५४ सालमा मेयर बनेका थिए । खेलकुद् परिषद्को सदस्यसचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, वागमती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसकेका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक काम गरेका थिए ।
तिनै स्थापित यसपटक नेकपा एमालेको तर्फबाट पुनः काठमाडौं महानगरपालिकाको लागि मेयरमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिष्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) हुन् । तर, स्थापति भने आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको र जित सुनिश्चित भएको बताउँदै आएका छन् ।
स्थापितसँगै काठमाडौं महानगरपालिकाको उपमेयरमा पूर्व मिस नेवा सुनिता डंगोलाई एमालेले उभ्याएको छ । मेयर स्थापितलाई विकास निर्माणको काममा साथ दिन युवा पुस्तहरुलाई अघि सारेकोले पनि आफूलाई काम गर्नको लागि सहज हुने स्थापित बताउँछन् ।
काठमाडौँको मेयर निर्वाचित भएपछि उनले अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गरे । उनले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताए ।
उनले आफ्नो प्रतिष्पर्धी बिना कुनै योजना बोकेर महानगरको दाबी गर्नाले राजधानीबाट अन्य क्षेत्रमा जानुपर्ने सन्देश देशव्यापी बन्न नसक्ने बताए । उनले बिना कुनै एजेण्डाका प्रतिष्पर्धी आउँदा २० वर्षको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाउने दाबी समेत गरे ।
मेयरका उम्मेदवार स्थापित भन्छन् ‘घरदैलो कार्यक्रम गर्दा माहोल एकोहोरो हाम्रो पक्षमा छ । यसलाई आफ्नो दर्शन, पार्टीको आधारमा संगठन बोकेर नीति, कार्यक्रम काठमाडौं कस्तो बनाउने भनेर सार्वजनिक मञ्चमा आउने प्रतिष्पर्धी नै पाइएन । अहिलेको मलाई लागेको खल्लो पन के हो भने अर्को पक्ष पनि यसरी प्रश्तुत भएको भए हाम्रो विचार, दर्शनको कुरा, कार्यक्रमको कुरा, शहरी योजनाको कुरा देशव्यापी जान्थ्यो । यसले राजधानीबाट अन्य क्षेत्रमा शिक्षा जान्थ्यो । मैले त अर्को पक्ष देखेकै छैन । समग्र होलस्टिक कुरा लिएर आएकै छैन । एउटा चुनावले २० वर्षको एजुकेशन दिनुपर्नेमा यसलाई हामी गुमाउँदै छौँ ।’
स्थापितले गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर प्रतिष्पर्धीको संज्ञा दिए । उनले यसअघि मेयर बन्दा पनि आफूले काम गरेर देखाएकोले अहिले काम गर्न सक्नेमा विश्वस्त रहेको बताए । अहिलेको युवा पुस्तालाई लिएर उनीहरुको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउने उनको तर्क छ ।
स्थापित स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्ने उनको भनाइ छ । स्थानीय सरकार भनेपनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा बिस्तार हुन नसकेको उनको बुझाई छ ।
मेयरमा जितेपछि अहिलेको राजश्व भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । आफू मेयर भएको भोलिपल्टबाट नै आम नागरिकका समस्याको सुनुवाई गर्ने उनले बताए । उनले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्ने बताए ।
स्थापितले अघि सारेका प्रतिवद्धता:
-मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने घोषणा
-अहिलेको राजश्व भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्छु
-बिना एजेण्डाका प्रतिष्पर्धीका कारण राजधानीले दिने २० वर्षको शिक्षा दिन सकिएन
-युवा पुस्ताले अन्तर्राष्ट्रिय स्तरको विकास गरेर देखाउनु पर्छ
-स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्छ
-महानगरले आफ्नो मातहतमा पशुपति क्षेत्र विकास कोष, सडक विभाग, विद्युत प्राधिकरण राख्न पाउनुपर्छ ।
-लोप हुन लागेका ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्छु ।
-२ सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पति पर्खाल लगाएर राखेकोले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने घोषणा
-भिजन भएका युवाहरुलाई आफ्नो टिममा आउनका लागि आह्वान