काठमाडौं । आज राष्ट्रिय कानून दिवस । काठमाडौंसहित विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका रहेको छ । बि.सं. २००९ मा ऐतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाउने गरेको छ ।
नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई जोड दिइन्छ ।
यस अवसरमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।
कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक छ, भने ।
उनले कानुन दिवसले मुलुकमा कानुनको शासनप्रतिको प्रतिबद्धता एवम् पालनामा सम्बन्धित सबैलाई थप हौसला एवं प्रेरणा प्रदान हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको कामु प्रधानन्यायाधीश कार्कीद्वारा जारी सन्देशमा उल्लेख छ ।
यस दिवसका दिन तीन वटै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा बिदा हुने गर्दछन् ।