काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाबाट मेयर पदका उम्मेदवार बनेका केशव स्थापित आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको बताउँछन् । आफ्नो भिजन र अघिल्ला कामका कारण आफ्नो जित सुनिश्चित भैसकेको बताउने उनी विभिन्न कारण चर्चामा भने आइरहन्छन् ।
२५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका स्थापितलाई नै एमालेले दोहोर्याउन चाह्यो । स्थापित यसअघि २०५४ सालमा मेयर निर्वाचित भएका थिए। ह्यावी वेट उम्मेदवारका रुपमा रहेका स्थापित २०४७ सालमा गठित एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवासंघका महासचिव हुँदै एमालेका हालका एक जुझारु नेतामा चिनिन्छन् ।
स्थापितको पालामा काठमाडौं महानगरमा धेरै उल्लेखनीय काम भएका कारण पनि उनी त्यो ताका निक्कै चर्चित थिए । खरो स्वाभाव र प्रष्ट वक्तारुपमा परिचित स्थापित मिसन-भिजन भएका नेतामा गनिन्छन् । उनले नै काठमाडौंमा आकाशे पुल अनि सडक फराकिलो बनाउने काम सुरू गरेका थिए । माइतीघर विस्तारको श्रेय पनि उनलाई नै जान्छ । त्यही बेलाको उनको छवि, अहोरात्र खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा प्रष्ट राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण एमालेले उनलाई उम्मेदवार बनाएको उनका समर्थकहरू बताउँछन्।
उनी युवाहरुलाई एक ठाउँमा बसेर आफ्नो सपना अनि भावी जिन्दगीका विषयमा गफ गर्ने ठाउँसमेत काठमाडौं नरहेको बताउँदै उनी भन्छन्, ‘म युवाहरूलाई जीवन र भविष्यको विषयमा कथा हाल्ने एक सयवटा स्थान निर्माण गरिदिन्छु । युवाको इच्छाअनुसार महानगरलाई स्मार्ट सिटी बनाउनेछु । राजधानीका सम्पदा छोपिने गरी लगाइएका अग्ला पर्खाल भत्काएर पारदर्शी बनाउन लगाउनेछु । युवा पुस्ता घुम्न, खेल्न जाने गरी महानगरका विभिन्न स्थानमा रमणीय क्षेत्रको विकास गर्नेछु । मसँग नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना छ । पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खालमात्रै तोड्न सकियो भने त्यहाँभित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरू खुसी हुन्छन् । त्यो क्षेत्रमा साँझमा घुम्न पुग्दा स्वर्गको अनुभूति हुने काम गर्नेछु ।’
यसैगरी उनी बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि पानीको फोहोरा भएको पार्क निर्माण गर्ने बताउँछन् । केशरमहलको वरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ बनाउनुपर्नेमा उनको जोड छ ।
यसैगरी स्थापित महानगरवासीलाई जहिले फोहोरको पिर रहेको बताउँदै यसको समाधानका लागि आफू मेयर भएपछि पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई नै दिने बताउँछन् । कुहिने र नकुहिने फोहोरका छुट्टाछुट्टै व्यवस्थापन गर्न बाध्यकारी व्यवस्था गर्ने बताउँदै उनी फोहोरमैलाको कहिल्यै पनि समस्या नहुने गरी समाधान गर्नु आफ्नो प्राथमिता रहने बताउँछन् ।
उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नुपर्ने उनको धारणा छ । काठमाडौं महानगरपालिकामात्रै होइन, उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुलीलगायतको अधिकार स्थानीय तहलाई दिनुपर्ने उनको भनाइ छ । त्यसो भएपछि मात्रै समस्या समाधान हुन सक्छ । उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नुपर्ने जस्तो परम्पराको अन्त्य गर्नेछु । ट्राफिक व्यवस्थापन र वातावरणमैत्री शहर निर्माणका लागि अपांग, बालबालिका र वृद्धवृद्धामैत्री विद्युतीय सवारीलाई प्राथमिकता दिनेछु । पार्क निर्माण गर्नेछु । ट्राफिक व्यवस्थापनलाई सहज गर्न ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थित सवारी पार्किङको व्यवस्थापन गर्नेछु ।’
यसैगरी महिला र बालबालिकाका लागि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजनामा उनी छन् । मेयर स्वास्थ्य कार्यक्रम र घर(घरमा स्वस्थ नारी कार्यक्रमलाई अघि बढाउने बताउँदै केही महिना भित्र बृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर-घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्ने उनको योजना छ । हरेक विद्यालयमा अनिवार्य शिशु कक्षा सञ्चालन गर्न प्रोत्साहन गर्ने, महिलाको हित र सशक्तीकरण योजना ल्याउने, महिलाका कुनै पनि समस्या समाधानका लागि महानगरमै महिला सहयोग केन्द्र स्थापना गर्ने उनको योजना छ ।
साथै उपत्यकाको ट्राफिक समस्याका साथसाथै उपत्यकाको सवारी व्यवस्थापन र धुलो र धुँवा नियन्त्रण गर्ने उनको अर्को योजना छ । उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना अघि सार्ने, उपत्यकाका १८ वटै स्थानीय तहसँगको समन्वयमा महानगरपालिकाको नेतृत्वमा उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने, त्योसँगै उपत्यका बाहिरबाट प्रवेश गर्ने सबै सवारीलाई धोइपखाली गरी राजधानी भित्रिने व्यवस्था गर्ने,सवारीको मापदण्ड जाँचमा कडाइ गर्ने, ठूला सवारीसाधनलाई राति रिङरोडमा मात्रै प्रवेश गर्ने व्यवस्था गर्ने, विद्युतीय सवारीसाधन ल्याउन पहल गर्ने लगायतका ट्राफिक समस्या समाधानको योजना रहेको उनी बताउँछन् ।
महानगरको शिक्षाका विषयमा उनको दृष्टिकोणमा मेयरले शिक्षामा परिवर्तन गर्न सक्दैन, सुधार्नमात्र सक्छ भन्दै उनी भन्छन्, ‘त्यसका लागि सामुदायिक विद्यालयलाई सूचना प्रविधिले भरिपूर्ण हाइटेक बनाउनेछु । सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास गर्नेछौँ । विद्यालयमा इन्टरनेट फ्रि गर्ने योजना ल्याउनेछौंँ । महानगर क्षेत्रमा विद्यालयको संख्या धेरै छ । विद्यालय मर्जरको नीतिलाई अघि बढाउनेछौं ।राम्रो शिक्षक भर्ना गरेर सामुदायिक विद्यालयको अवस्था निजीको भन्दा पनि राम्रो बनाउने सोचमा छौँ । सरकारले मावि तहसम्म निःशुल्क शिक्षा दिएको छ । कतिपय विद्यालयले शुल्क लिने गरेको गुनासो सुनेको छु । सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने व्यवस्था गर्नेछौँ । छात्रवृत्तिलाई पारदर्शी बनाउने योजना छ । गरिब विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्नेछौँ । शिक्षामा आमूल परिवर्तन गर्ने सोच लिएका छौँ । स्थानीय भाषा र पाठ्यक्रमलाई जोड दिनेछौँ ।’
यसैगरी उपमेयरमा भने एमालेले युवा नेतृ सुनिता डंगोललाई अघि सारेको छ ।
युवा भएरै पनि उनी चर्चित छिन् । पूर्वमिस नेवाः समेत भएकी सुनिता अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक जुझारु युवा पनि हुन् । बहुआयामिक प्रतिभा भएकी सुनितासँग विभिन्न कार्यक्रमहरुको संचालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको अनुभव समेत छ । एक दर्जन मुलुकको भ्रमण गरेकी सुनिता नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी उनी काठमाडौँ महानगरकी आदिवासी हुन् ।
‘सोसियल साईन्स’मा स्नातकोत्तर गरेकी सुनिता मुलुक समृद्ध बनाउन मुलुकको नेतृत्वको जिम्मा पनि भिजन भएका योग्य र जुझारु यूवालाई नै दिनुपर्ने बताउँछिन् । यति मात्र होइन उनी अनुभवी र विज्ञहरुको टीम बनाएर काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक सहरको रुपमा विकास गर्ने सोच आफूसँग रहेको बताउँछिन् ।
३१ वर्षीया सुनिताको परिवारिक पृष्ठभूमि एमाले नै हो। काठमाडौंको लगन टोल निवासी सुनिता सम्पदा बचाऊ अभियानमा सक्रिय छिन्। उनी रञ्जना लिपि प्रवर्द्धनकी अभियान्ता हुन्।
सवैभन्दा ठूलो पार्टीले आफूलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु आफ्नो मात्रै होइन, युवा, महिला, सामाजिक–सांस्कृतिक अभियान्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरुको भावनाको प्रतिनिधित्व हुनेगरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसरलाई पूरापुर उपलब्धी मुलक बनाउने उनको योजना छ ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएकी सुनिता आफूले काठमाडौंको विकासका लागि ८ खम्बे विकास मोडल तयार गरेको जनाइन्। जसमा फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास र युवा सशक्तीकरण र सांस्कृतिक सम्पदा रहेका छन्।