काठमाडौँ l पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँमा गठबन्धनले राम्रो उम्मेदवार अघि सारेकाले उनीहरुलाई जिताउनु पर्ने बताएका छन्।
शुक्रबार शान्तिकाटिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले व्यवस्थित रुपमा देश चलाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका हुन्। उनले ओलीले देश चलाउँदा जात्रा भएकाले अव व्यवस्थित गर्न गठबन्धन नै आवश्यक भएको उल्लेख गरे।
नेपालले भने, ‘कहीँ नहुने जात्रा केपी ओलीले देश चलाउँदा देख्न पायौँ। तसर्थ जात्रा देखाउनेलाई बिर्सिएर पनि मत नदिनुुस्। पवित्र उद्देश्यले गठन भएको सत्ता गठबन्धलाई जिताउनुुस्।’ नेपालले गठबन्धनको पक्षमा जनमत तयार गर्न आह्वान गरे। ‘गठबन्धनका उम्मेदवारलाई जिताऔँ। जनताले हाम्रो आवश्यकता महसुस गरेका छन्, उनले भने।
नेपालले गठबन्धनले काठमाडौँमा अघि सारेका उम्मेदवार राम्रो भएको भन्दै प्रशंसा गरे। ‘अन्य दलका उम्मेदवारको तौर तरिका र गतिविधि देखेर गठबन्धनले राम्रो उम्मेदवार अघि सारेको छ। गठबन्धनले महिलालाई सम्मान गरेको छ, नेपालले भने। काठमाडौँमा महानगरपालिकामा गठबन्धनले कांग्रेसकी सिर्जना सिंहलाई प्रमुख र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।
अध्यक्ष नेपालले प्रतिगामी शक्तिसँग मिलेर चुनावी साँठगाँठ गरेका ठाउँमा गठबन्धनका उम्मेदवारलाई कारवाही गर्न सम्बन्धित दललाई आग्रह गरे।