बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताएका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्धारा बिहीबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले सरकारका पालामा सञ्चालनमा रहेका योजना मात्रै पूरा हुँदा बुटवलले नयाँ उचाई हासिल गर्ने उल्लेख गरे ।
‘भौतिक र मानवीय विकासमा रुपन्देही निकै अगाडी छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, शुरु भएका आयोजना सम्पन्न भएमात्र पुग्छ’ उनले भने ।
‘बर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने, पूरा हुन नदिर्ने षडयन्त्र गरिरहेका छन्, हामी त्यस्ता षडयन्त्रका हरुलाई परास्त गछौं’ उनले भने ।
हिजो सडक बन्न नदिन डोजर मुनि सुत्छु भन्नेहरु अहिले उम्मेदवार भएको बताउँदै उनले विकास आयोजना रोकेर कोही माथि पुग्न नसक्ने बताए ।
पूर्वाग्रही बर्तमान सरकारका कारण तात्कालीन एमालेको सरकारले शुरु गरेका दर्जनौं पूर्वाधारहरुको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उनले बताए । त्यसका लागि बुटवलवासीले दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
सरकारमा अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको बताउँदै उनले कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको स्मरण गराए ।
नेपालमा महंगी डबल डिजीटमा पुग्न लागेको जनाउँदै उनले अर्थव्यवस्था सुधार गर्न एमालेलाई मत दिन उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।
अर्थतन्त्रलाई अगाडी बढाउन सरकार, सहकारी र निजीक्षेत्र बीच समन्वय हुनुपर्ने बताउँदै निजी क्षेत्र अनुकुलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।
भेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने बताए । भेलामा एमालेबाट उपप्रमुखकी उम्मेदवार सावित्रा अर्यालले उद्योगी व्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।
नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटिका संयोजक बाबुराम बोहोराले यस क्षेत्रका उद्योगी व्यवसायीको मत एमालेलाई जानेमा कुनै शंका नरहेको जनाए ।