शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुई–दुई पटक विमानस्थलमा बम भएको भ्रामक खबर दिने को हुन् ?

बुधबार, बैशाख २१ २०७९

काठमाडौं ।  आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम भएको भन्दै हंगामा मच्चिएको थियो । अन्ततः विमानस्थलमा बम नभएको पुष्टि भएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनल भवनमा बम राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भयो । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । 

विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा अत्यास भएको थियो । बोर्डिङ पास लिएर उडानको तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर पठाइएको छ ।

अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित व्यक्तिको फोन आएको थियो । बिहान ९ बजेर ४० मिनेटमा पहिलो कल आएको थियो भने दोस्रो कल ९ बजेर ५० मिनेटमा आएको विमानस्थल स्रोतले जनाएको छ ।

तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेशन चलायो ।

सर्च अप्रेशन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । सबै विमानहरूको उडान बन्द समेत गरियो ।  

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेशन चलाइएको थियो । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए । 

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिाय अघि बढाइसकेको उनको भनाइ छ । 

दुवैपटकको फोनमा एउटै व्यक्तिको स्वर सुनिएको थियो । उनी नेपाली भाषामै बोलेका थिए । यस बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । 

‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च गर्‍यौं । सर्च गर्दा केही पनि फेला परेन । अहिले सबै उडान सुरु भइसकेका छन् ।’ उनले भने