काठमाडौं । मिथिलामा आज हिन्दू र इस्लाम धर्मावलम्बीले आ–आफ्ना परम्पराका पर्व मनाउँदैछन् । आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व मनाउँदैछन् ।
यसैगरी आजै वैशाख शुक्ल त्रितीयाका दिन हिन्दू धर्माबलम्बीहरु अक्षय त्रितीया पर्व मनाउँदैछन् । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत खुवाउने मिथिलामा परम्परा छ । पर्वका दिन धेरै मानिसको आवतजावत हुने बाटोमा बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू मैथिल परम्परा रहेपनि अहिले निषेधाज्ञाले गर्दा घरपरिवारभित्र नै यो पर्व मनाउँदैछन् ।
इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रतं) ले अल्लाह (ईश्वर) को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि (सामान्यत द्वितीयाका दिन) त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ । सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी) चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ ।
इदपर्वमा अल्लाह (ईश्वर)का नाममा विशेष नमाज (प्रार्थना) अदा (अर्पण) गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिकग्रन्थ) मोल्वी (धर्मगुरु) ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्य वस्तु) को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ ।
पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल) मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा छ ।
विगतका दुई वर्ष कोभिड–१९ महाव्याधि प्रकोपले सामूहिक तवरले इद मनाउन नपाएका इस्लाम धर्मावलम्बीले यसपालि बल्ल मन फुकाएर चाड मनाउन पाइएको बताएका छन् ।