बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै आलोचना सुरु भएको छ ।
यस्ता भ्रमपूर्ण आश्वासन नबाँड्न अर्थविदहरूले आग्रह समेत गरेका छन् । कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने उल्लेख गरेको थियो ।तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले चाहँदैमा प्रशासनिक भवनलाई अस्पताल बनाउन नमिल्ने बताए । असम्भव र झुटा आश्वासनले जनतालाई भ्रमितबाहेक केही गर्दैन, हुनै नसक्ने विषय घोषणा पत्रमा राख्नु लाजमर्दो भएको उनले बताए ।
कांग्रेससहितको गठबन्धनले जारी गरेको तिलोत्तमा घोषणा पत्रमा हाल नगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था खारेज गरी पूर्ण सरकारी बजेटमा बनाउने प्रतिबद्धता गरिएको छ । एकातिर कर घटाउने कुरा गर्ने अर्कातिर लागत साझेदारी खारेज गरेर पूर्ण सरकारी पैसामा बाटो बनाउँछु भन्नु सान्दर्भिक नहुने देखिएको छ ।
‘कर घटाउनु भनेको नगरपालिकाको आम्दानी घट्नु हो, आम्दानी नै नभएपछि कसरी आफ्नो पैसामा बाटो बनाउँछ,’ अर्थविद् आरसी आचार्यको भनाइ छ ।
अर्का अर्थतन्त्रका जानकार हुमराज भुसालले पनि गठबन्धनले घोषणापत्रमा अव्यावहारिक कुरा मात्रै गरेको टिप्पणी गरे । उनले आन्तरिक राजस्व संकलनका लागि करारोपण नगरिकन विकासको कार्यक्रम अगाडि बढाउने कुरा अव्यावहारिक र काल्पनिक मात्रै भएको बताए ।
प्रशासनिक भवन र अस्पताल भवनको बारेमा सामान्य जानकारी नराखीकन अस्पताल सञ्चालन गर्ने कुराले गठबन्धनले नागरिकको विकास प्रतिको मोहलाई सम्बोधन गर्न असफल भएको उनको भनाइ छ । तिलोत्तमा नगरपालिकाले वडा नम्बर ६ को कुञ्जलापुरमा आठ बिघा क्षेत्रफलमा करिब ६ करोड लागतमा प्रशासनिक भवन बनाएको छ ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेस नेता रामकृष्ण खाँणले प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्न मिल्ने या नमिल्ने भन्ने कुरा प्राविधिक विषय भएको बताए ।